नेपालको दोस्रो जित, मलेसिया ८ विकेटले पराजित

आश्विन २०, २०७५ – मलेसियामा जारी ट्वान्टी २० विश्वकप क्रिकेटको एसियाली सब रिजनल छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सहभागी अन्य राष्ट्रभन्दा बलियो मानिएको घरेलु टोली मलेसियालाई ८ विकेटले हराउँदै, नेपालले महत्वपुर्ण अंक हात पारेको हो । मलेसियाले प्रस्तुत गरेको १ सय १ रनको चुनौती नेपालले १२ दशमलब ४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । तेस्रो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ६९ रनको साझेदारी गर्दै नेपालले जित सहज पारेका थिए । खड्का ५२ र मल्ल २७ रनमा अबिजित रहे ।  नेपालको ओपनिङ आजपनि राम्रो हुन सकेन् ।


ओपनर अनिल कुमार शाह १ र बिनोद भण्डारी १२ रनमा पभेलियन फर्किए । टोलीको स्कोर २ रन हुदा शाह विकेट किपरद्धारा क्याचआउट भएका थिए । प्रविनद्विप सिंहको बलमा सायद अजिजको हातबाट क्याचआउट हुनुअघि बिनोदले २ चौका प्रहार गरे ।  यसअघि क्वालालाम्पुरस्थित वायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेसिया १९ दशमलब ३ ओभरमा १ सय रनमै समेटिएको थियो । लेगस्पिनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै महत्वपुर्ण ५ विकेट लिएपछि मलेसिया सामान्य स्कोरमै रोकिएको थियो । सोमपाल कामीले ३ र पारस खड्काले १ विकेट लिए । लामिछाने म्यान अफ दि म्याच घोषित भए ।  साफिक सारिफले ४९ रन बनाएको ईनिङसमा सायद अजिजले १३ रन जोडे । मलेसियाका अन्य नौ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । आजै भएको अर्को खेलमा सिंगापुरले चीनलाई १० विकेटले हरायो । चीनले प्रस्तुत गरेको २७ रनको झिनो चुनौती सिंगापुरले २ दशमलब ३ ओभरमा बिना क्षती भेट्टायो । प्रतियोगिताको तेस्रो खेलमा नेपालले भोलि थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Facebook
Google+
http://nepalnote.com/nplnote/641">
Twitter